कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।
विभिन्न जिल्लामा २४६ सङ्क्रमित थपिँदा अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २०,३३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।
विगत २४ घण्टामा १११ जना निको भएसँगै अहिलेसम्म १४,६०३ जना अर्थात् ७१.८ प्रतिशत सङ्क्रमित भाइरसमुक्त भएका छन्।
- नेपालमा कोरोनाभाइरसका कारण कसको मृत्यु भइरहेको छ?
- कोरोनाभाइरसको जोखिम बढ्दो, सरकार र आममानिसले अब के गर्नुपर्छ
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,६७२ छ।
मन्त्रालयले साउन १४ को निर्णयानुसार कोभिड-१९ परीक्षणका लागि आरडीटी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरूलाई पुनः जानकारी गराइएको बताएको छ।
को हुन् सङ्क्रमित?
आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।
- स्वास्थ्य मन्त्रालयका प्रवक्ताले किन नेपालमा ‘ठूलो जनस्वास्थ्य दुर्घटना’को जोखिम देखे
- काठमाण्डूमा सङ्क्रमितको सङ्ख्या बढ्दा विज्ञहरू किन चिन्तित
तीमध्ये काठमाण्डू उपत्यकाका ३१ जना छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये पर्साका ८१ र धनुषाका ३५ जना छन्।
पर्सामा सङ्क्रमण देखिनेमा मास ट्रेसिङअन्तर्गत तथा स्वेच्छाले आफैँ शुल्क तिरेर पीसीआर परीक्षण गराएकाहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
काठमाण्डू जिल्लामा थप २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोनाभाइरस देखिएको हो।
मन्त्रालयका अनुसार काठमाण्डू उपत्यकाका मुख्य प्रवेशद्वार नागढुङ्गा, साँगा र फर्पिङमा साउन १० गतेदेखि १६ गतेसम्म १०,८२७ जनाबाट नमुना सङ्कलन गरिएको र परीक्षण भइरहेको छ।
को हुन् मृतक?
मन्त्रालयले अहिले मृत्युको पुष्टि गरेकी व्यक्ति पर्साकी हुन्।
वीरगन्ज महानगरपालिका नगवाकी ६८ वर्षीया महिलाको शनिवार साँझ मृत्यु भएको थियो। उनमा साउन १६ गते कोभिड पुष्टि भएको थियो।
- काठमाण्डूमा सङ्क्रमितको सङ्ख्या बढ्दा किन आत्तिनुपर्ने अवस्था
- नेपालमा दिनदिनै यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
ज्वरो र निमोनिया भएपछि उपचारका लागि गत बुधवार ती वृद्धालाई एउटा निजी अस्पताल भर्ना गरिएको जानकारी कोभिड अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।
डा. सिंहका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि कोभिड विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटामै मृत्यु भएको थियो।
मन्त्रालयले उनमा मधुमेह र उच्च रक्तचापको समस्या पनि भएको जनाएको छ।
के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा पीसीआर विधिबाट ८,८६१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि १०,९०० भन्दा केही बढी मानिस क्वारन्टीनमा छन्। तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले रौतहट र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्लामा भने सक्रिय सङ्क्रितको सङ्ख्या शून्यमा झरेको छ।
स्रोत: बिबिसी नेपाली