काठमाडौँ: जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका छन् ।
