गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ।
पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्।
नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन्।
सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो।
कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले जानकारी दिए।
स्राेतः नेपालखबर