काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रका तीन फरक नीतिलाई एउटै बनाउने भएको छ । लामो समयदेखि परिमाजर्न हुन नसकेको ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीतिलाई एकीकृत गर्ने तयारी भएको हो ।
त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएकाे छ । मन्त्रालयले तीन वटै नीतिलाई एउटै बनाएर ‘एकीकृत सञ्चार तथा सूचना प्रविधि नीति’ बनाउने प्रक्रिया थालनी गरेकाे हाे ।
त्यसका लागि मन्त्रालयले टर्म अफ रिफ्रेन्स (क्षेत्राधिकार) स्वीकृत गरी प्राधिकरणलाई मस्यौदा तयार गर्न निर्देशन दिएको छ ।
‘दूरसञ्चार नीति २०६०, ब्रोडब्याण्ड नीति २०७१ र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ परिमार्जनको सिलसिलामा उपयुक्त तीन वटै नीतिलाई समेटी एकीकृत सञ्चार तथा सूचना प्रविधि नीति तर्जुमाको लागि क्षेत्राधिकार स्वीकृत गरी नीति मस्यौदाको लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाउने निर्णय गरियो’, मन्त्रालयले प्राधिकरणलाई पठाइएको उक्त पत्रमा भनिएको छ ।
सोही पत्रका आधारमा प्राधिकरणले पनि नीति निमार्णको लागि परामर्शदाता नियुक्तको तयारी अघि बढाउन लागेको छ । छनौट भएको परामर्शदाताले तीन वटै नीतिलाई एकीकृत गरी त्यसको ड्राफ्ट निमार्णको काम गर्नेछ ।
परामर्शदाताले विभिन्न सराेकारवालासँगको सहकार्यमा तयार पारेको उक्त ड्राफ्टलाई मन्त्रालयमा बुझाइनेछ ।
तर, मन्त्रालय स्रोतले भने अध्ययनका लागि मात्रै यो प्रक्रिया अघि बढाइएको बताएको छ । स्रोतका अनुसार अध्ययनपछि तीन वटा नीतिलाई एकै ठाउँमा एकीकृत गर्दा के–कस्ता चुनौती आउन सक्छन्, त्यसको आँकलन गरेर मात्रै अघि बढिनेछ ।
स्रोत: टेकपाना