मेस्सी
अन्तराष्ट्रिय खेलकुद

मेस्सी: आफ्नो नाममा ट्रेडमार्क राख्न पाउने यी चर्चित खेलाडीको कानुनी लडाइँ

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ।

युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ।

मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिएका थिए।

तर मास्सीले आफ्ना लोगोसँगको समानताका कारण मानिसहरू झुक्किन सक्ने तर्क गरेको थियो।

उपाधि

युरोपिअन कोर्ट अफ जस्टिसले दुईवटा ब्रान्डबीच मानिसहरूले फरक छुट्ट्याउन सक्ने वा नसक्ने कुरा गर्दा यी स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्नुपर्ने जनाएको छ।

त्यसो भन्दै उसले ईयूको जेनरल कोर्टले सन् २०१८ मा दिएको आदेशलाई सदर गरिदिएको छ।

उक्त आदेशमा भनिएको थियो- मेस्सी यति चिरपरिचित छन् कि उनको नामलाई लिएर मानिसहरू झुक्किनै सक्दैन।

हुन त साइक्लिङसम्बन्धी पोसाक तथा सरसामान विक्री गर्ने मास्सी प्रारम्भिक चरणको कानुनी लडाइँमा सफल भएको थियो।

तर मेस्सीले मुद्दालाई ईयूको जेनरल कोर्टमा लगेपछि फैसला उनको पक्षमा आयो। तेत्तीस वर्षीय मेस्सी १० नम्बरको जर्सी लगाउँछन्।

लिओनेल मेस्सी

फोर्ब्स म्यागजीनका अनुसार मेस्सीले वर्ष फुटबल खेलाडीको उपाधि छ पटक पाएका छन् भने उनी विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने फुटबल खेलाडी हुन्।

सन् २०२० मा मेस्सीले कुल १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको फोर्ब्स म्यागजीनले जनाएको छ।

आफ्नो पूरै व्यावसायिक खेलजीवन बिताएको स्पेनी क्लब बार्सिलोनाबाट अलग हुन चाहेको गत अगस्टमा बताएपछि त्यो विषयले सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो।

तर बार्सिलोनाले अहिलेको करारबमोजिम मेस्सी सन् २०२१ को अन्त्यसम्म आफूसँग अनुबन्धित रहेको र उनलाई किन्न चाहनेले ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्ने बतायो।

त्यसपछि मेस्सीले “आफूले माया गरेको क्लब” सँग अदालतमा आमुनेसामुने हुन नचाहेको भन्दै त्यसबाट अलग्गिने मनस्थिति परिवर्तन गरेका थिए।

स्रोत: बिबिसी नेपाली

सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/