प्रविधि

अब तपाईंको नाम पनि भेटिनेछ गूगल सर्चमा, यस्तो छ नयाँ फिचर

काठमाडौं । यदि तपाईं गूगलमा सर्च गरेर अरुले आफ्नो बारेमा थाहा पाउन् भन्ने चाहनुहुन्छ भने त्यसका लागि तपाईं सेलिब्रिटी हुन जरुरी छैन । गूगलले तपाईंको पहिचान विश्वसामु ल्याउने प्रबन्ध मिलाइदिएको छ । 

हालै गूगलले पिपुल कार्ड फिचर सार्वजनिक गरेको छ । यो एक किसिमको भर्चुअल भिजिटिङ कार्ड हो । जसको सहयोगमा तपाईं कुनै पनि व्यक्तिको बारेमा गूगल सर्च गरेर खोज्न सक्नुहुन्छ । अथवा भनौं जसले पनि तपाईंलाई खोज्न सक्छ ।

यसमा त्यही जानकारी दुनियाँसामु देखिनेछ, जुन तपाईं आफू चाहनुहुन्छ । यसको आवश्यकता किन पनि छ भने अहिले एउटै नाम गरेका अनेकौं मानिसहरु इन्टरनेटमा छन् । 

गूगल पिपुल कार्डमा के हुन्छ ?

यसमा कुनै पनि व्यक्तिले आफ्नो एउटा मात्र कार्ड बनाउन सक्छ । यसको खोजविन पछि नै यो जारी हुनेछ । हरेक कार्डमा व्यक्तिको फोटो, व्यवसाय, ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । जसबाट एउटै नाम गरेको अर्को कार्डबाट अलग गरिनेछ ।

यदि प्रयोगकर्ताले चाहेको खण्डमा यसमा आफ्नो अध्ययन, सम्पर्क, गाउँ-ठाउँ, सामाजिक सञ्जालको प्रोफाइलजस्ता जानकारीसमेत जोड्न सकिनेछ । यस्तो कार्डमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण हुनेछ ।

यदि तपाईंले चाहेको खण्डमा जानकारी मेटाउन वा अपडेट गर्न सक्नुहुनेछ । यसबाहेक प्रयोगकर्ताले सधैंका लागि कार्ड बन्द गरेर राख्नसमेत सक्नेछन् । यसो गर्दा गूगल सर्चमा तपाईंको नाम कहिल्यै देखिने छैन । हालका लागि गूगल सर्चका लागि बनाइएको यो फीचर वेब भर्सनमा मात्र उपलब्ध छ । 

हालै मात्र विश्वमै पहिलोपटक भारतमा सार्वजनिक गरिएको यो फिचर अन्य मुलुकमा तत्काल उपलब्ध हुने विषयमा गूगलले स्पष्ट उल्लेख गरेको छैन। 

Source :- Techpana.com

सेयर गर्नुहोस् :