प्रविधि

अब सधैंलाई एउटाको एटीएम अर्को बैंकमा निःशुल्क प्रयोग गर्न पाइने

काठमाडौं । अब एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनको पहिलो खण्डमा विद्युतीय भुक्तानी कार्ड सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । जसको निर्देशन नम्बर १ को (ङ) मा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ भनिएको छ ।

राष्ट्र बैंकले कायम गरेको नयाँ नीतिगत तथा प्रक्रियागत व्यवस्था अनुसार अब क वर्गका बैंकले मात्रै क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका सबै प्रकारका विद्युतीय भुक्तानी कार्ड जारी गर्न पाउनेछन् । ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवाप्रदायक (डिजिटल वालेट तथा भुक्तानी प्रणाली सञ्चालक) ले स्वदेशी मुद्रामा मात्र प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । यसैगरी विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरु ग्राहकसँगको सम्झौतामा स्पष्टरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत एकीकृत निर्देशनमा समेटिएको छ ।

त्यस्तो कार्डको अवधि समाप्त नहुञ्जेल नवीकरण शुल्क लिन नपाइने र कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना एसएमएस मार्फत प्रयोगकर्तालाई दिनुपर्नेछ ।

एसएमएस अलर्ट अनिवार्य बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी कार्डमार्फत कारोबार सम्पन्न भएपछि अनिवार्य रुपमा सम्बन्धित ग्राहकलाई तत्काल सतर्कताको रुपमा एसएमएस अलर्ट दिनुपर्ने व्यवस्था गरिएको छ ।

साथै ग्राहकले ईमेलमार्फत सतर्कता सन्देश माग गरेको खण्डमा सोको व्यवस्था समेत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसैगरी विद्युतीय कार्ड सेवा प्रयोग गरिरहेका ग्राहकले आफ्नो सम्पर्क नम्बर तथा ईमेल आईडी उपलब्ध नगराएको भए २०७७ पुस मसान्तसम्म सम्बन्धित बैंकले त्यसको समेत अनिवार्य रुपमा अध्यावधिक गर्नुपर्नेछ ।

कारोबार सम्पन्न नभई खाताबाट पैसा काटिएमा के हुन्छ ?

विद्युतीय कार्ड प्रयोगकर्ताहरुले खाताबाट रकम काटिने तर कारोबार सम्पन्न नहुने जस्ता समस्या लामो समयदेखि व्यहोर्दै आएका छन् । केन्द्रीय बैंकले यस किसिमको समस्यालाई समेत एकीकृत निर्देशनमार्फत सम्बोधन गर्ने प्रयास गरेको छ ।

यस्तो अवस्थामा इस्युअर (कार्ड जारी गर्ने) र अक्वायर (कार्डबाट भुक्तानी लिने व्यवस्था मिलाउने) एउटै संस्था भएमा कारोबार भएकै दिन हिसाब मिलान गर्नुपर्नेछ । तर यस्ता संस्थाहरु फरक भएमा हिसाब मिलानका लागि सात दिनसम्मको समय उपलब्ध हुनेछ ।

यस्तो मा कुनै एक संस्था विदेशी भएको खण्डमा भने ९० दिन भित्र हिसाब मिलान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

विद्युतीय कार्डमा चिप अनिवार्य

राष्ट्र बैंकले विद्युतीय कार्ड तथा अक्वायर डिभायसहरु अनिवार्य रुपमा चिपमा आधारित हुनुपर्ने व्यवस्था समेत गरेको छ । साथै पस तथ पट मसिनबाट भुक्तानी कार्डमार्फत हुने कारोबार अनिवार्य रुपमा चिप र पिनमा आधारित हुनुपर्नेछ ।

तर बैंक तथा वित्तीय संस्थाले जारी गरेको एनएफसी (नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी) कन्ट्याक्टलेस कार्डमार्फत कारोबार गर्दा भने पिन आवश्यक नपर्ने बताइएको छ ।

यस्ता छन् विद्युतीय भुक्तानी कार्डमार्फत गर्न सकिने कारोबार

खातामा रहेको मौज्दात तथा कारोबार सम्बन्धी विवरण उपलब्ध ।

एटीएम तथा क्यास डिस्पेन्सिङ मसिनबाट नगद झिक्न ।

वस्तु तथा सेवा उपभोग गरे वापतको रकम प्वाइन्ट अफ सेल (पोस), प्वाइन्ट अफ ट्राञ्जेक्सन (पोट), इन्टरनेट र अन्य विद्युतीय भुक्तानी ।

एटीएम वा विद्युतीय माध्यमबाट तेस्रो पक्षको खातामा रकमान्तर ।

Source: techpana.com

सेयर गर्नुहोस् :