कोभिडः यूके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएका कोरोनाभाइरसका नयाँ प्रकार कति चिन्ताजनक छन्
कोरोना स्वास्थ्य

कोभिडः यूके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएका कोरोनाभाइरसका नयाँ प्रकार कति चिन्ताजनक छन्

कोरोनाभाइरसका नयाँ प्रकारहरू महामारी निम्त्याएको शुरूको भाइरसभन्दा झन् सङ्क्रामक देखिएका छन्।

यूकेले कोरोनाभाइरसको नयाँ प्रकारका बिरामी पत्ता लगाउन र समुदायमा सङ्क्रमण फैलिन नदिन परीक्षणमा तीव्रता दिइरहेको छ।

कोरोनाभाइरसका नयाँ प्रकारको हकमा खोपहरूले राम्ररी काम नगर्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।

नयाँ प्रकारहरू कुनकुन हुन्?

कोभिडका कैयौँ हजार फरकफरक नयाँ भेरीअन्ट अर्थात्‌ प्रकारहरू फैलिरहेका छन्।

विज्ञहरूको चिन्ता चाहिँ केहीमा केन्द्रित छः

  • यूके भेरीअन्ट ब्रिटेनको धेरै क्षेत्रमा हावी देखिएको छ र यो प्रकार ५० भन्दा बढी देशमा फैलिसकेको छ
  • दक्षिण अफ्रिका भेरीअन्ट पनि यूकेसहित कम्तीमा २० वटा देशमा देखिएको छ
  • ब्रजिल भेरीअन्ट

कोरोनाभाइरसका नयाँ प्रकारहरू विकसित हुनु अनपेक्षित होइन। फैलिनका निम्ति सबै भाइरसहरू उत्परिवर्तित भई आफूलाई नयाँ रूपमा ढाल्छन्।

तिनीहरूमध्ये अधिकांश सामान्य हुन्। केही चाहिँ अझ बढी हानिकारक हुन सक्छन्। तर केही झन् धेरै सङ्क्रामक अथवा डरलाग्दा हुन सक्छन्।

के नयाँ प्रकारहरू झन् खतरनाक छन्?

सङ्क्रमित भइसकेका ठूला सङ्ख्याका मानिसहरूलाई तिनीहरूले झन् गम्भीर बिरामी बनाउने कुराको प्रमाण फेला परिसकेको छैन।

तर शुरूवाती कोरोनाभाइरसको जस्तै ज्येष्ठ नागरिक अथवा गम्भीर स्वास्थ्य समस्या भएका मानिसहरू नयाँ भाइरसको पनि उच्च जोखिममा रहन्छन्।

केही अनुसन्धानहरूले औँल्याएअनुसार नयाँ यूके भेरीअन्टले ३० प्रतिशत बढीले मृत्युको जोखिम निम्त्याउन सक्छ।

यद्यपि यसका लागि बलियो प्रमाण देखिएको छैन र त्यसमसम्बन्धी तथ्याङ्क अझै अनिश्चित छ। थप अध्ययनहरू भइरहेका छन्।

कोरोनाभाइरस

हात धुने, सामाजिक दूरी कायम राख्ने र मास्क लगाउने कार्यले सङ्क्रमण फैलिनबाट रोक्न सक्छ।

अर्को कुरा कोरोनाभाइरसका नयाँ प्रकारहरू अझ बढी सङ्क्रामक देखिएकाले थप चनाखो हुन जरुरी छ।

भाइरसलाई के भइरहेको छ?

यूके, दक्षिण अफ्रिका र ब्रजिल भेरीअन्ट शुरूवाती कोरोनाभाइरसभन्दा अझ बढी सङ्क्रामक अथवा पहिलावालाभन्दा छिट्टै समात्न सक्छन्।

यी नयाँ प्रकारहरू कोषलाई सङ्क्रमित बनाउने र फैलिने कुरामा बलिया देखिएका छन्।

गत सेप्टेम्बर महिनामा देखिएको यूके अथवा केन्ट स्ट्रेन ७० प्रतिशतभन्दा बढी सङ्क्रामक हुन सक्ने विज्ञहरू ठान्छन्।

पब्लिक हेल्थ यूकेले गरेको पछिल्लो अध्ययनले भने ३० देखि ५० प्रतिशतको बिचमा सङ्क्रामक हुन सक्ने देखाएको छ।

कोरोनाभाइरसको यही प्रकारका कारण यूकेभरि पछिल्लो पटक लकडाउन गरिएको छ।

दक्षिण अफ्रिका भेरीअन्ट चाहिँ गत अक्टोबरमा देखिएको थियो।

त्यसले N501Y नामक उत्परिवर्तन गर्छ जसले त्यसलाई झन् सङ्क्रामक हुन अथवा सजिलै फैलिन मद्दत गर्छ।

ब्रजिल भेरीअन्ट जुलाई महिनामा देखिएको थियो र यो पनि दक्षिण अफ्रिका भेरीअन्टजस्तै छ।

यूके सरकारले दक्षिण अफ्रिका, दक्षिण अमेरिका र पोर्चुगलबाट आफ्नो देशमा हुने उडानहरूमा प्रतिबन्धको घोषणा गरेको छ।

के खोपले अझै काम गर्नेछ?

त्यसबारे अध्ययनहरूले हेरिरहेका छन्। अहिले उपलब्ध खोपहरू शुरूवाती कोरोनाभाइरसलाई ध्यानमा राखी बनाइएका हुन्।

तर ती खोपहरूले नयाँ प्रकारको हकमा पनि काम गर्ने वैज्ञानिकहरूको विश्वास छ। यद्यपि एकदम राम्रोसँग नगर्न सक्छन्।

प्रारम्भिक नतिजाहरूले देखाएअनुसार फाइजरको खोपले नयाँ प्रकारविरुद्ध पनि काम गर्छ।

छिट्टै अनुमोदन हुने ठानिएको नोभाभ्याक्स र जान्सुनको खोपले दुईवटा नयाँ भाइरसविरुद्ध केही काम गर्ने देखिएको छ।

त्यसबारे के भइरहेको छ?

कोरोनाभाइरसका थप नयाँ भेरीअन्ट देखिनेछन्।

विश्वभरिका वैज्ञानिकहरूले नजिकबाट हेरिरहेका छन् र महत्त्वपूर्ण लागेको बारेमा अध्ययन एवम् अवलोकन गरिनेछ।

आवश्यक परेको खण्डमा हाल उपलब्ध खोपहरूमा अद्यावधिक गर्नुपर्ने भएमा त्यसका लागि विज्ञहरूले काम गरिरहेका छन्।

यूके सरकारले भविष्यमा देखिन सक्ने नयाँ प्रकारको भाइरसका लागि खोपहरूको विकास गर्न औषधि उत्पादक क्योरभ्याक्ससँग सम्झौता गरिएको घोषणा गरेको छ।

स्रोत: बिबिसी नेपाली

सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/