अर्थ व्यापार

सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ ।

सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ ।

मध्यम लगानीका सडक, भवन, पुल लगायतका आयोजनाहरुमा पनि प्राविधिक त्रुटि र लापरवाहीले निम्त्याएको क्षति सानो छैन । डिजाइन र निर्माणमा पर्याप्त सजगता र गुणस्तर नअपनाउँदा सडक र पुलहरु बन्दाबन्दै बगेका छन् । बनेका कति पुल जोखिमपूर्ण देखिएपछि सरकारले बन्द गरेर राखेको उदाहरणहरु छन् ।

कतिपय आयोजना भने परीक्षणमै असफल भएका छन् । लापरवाहीले हुने त्रुटि सच्याउँदा थप समय र लगानी लाग्छ । यसको पछिल्लो उदाहरण हो, मेलम्ची खानेपानी आयोजना । वर्षौंदेखि काठमाडौंमा पानी खसाल्ने भाका सार्दै आएको यो आयोजनाको पनि निर्माण गुणस्तरमाथि परीक्षणकै क्रममा प्रश्न उठेको छ ।

गत असार २९ गते पूजाआजाका साथ मेलम्चीको पानी अस्थायी बाँध बनाएर सुरुङमा हाल्न सुरु गरिएको थियो । सुरुङ परीक्षण गर्न हालिएको त्यो पानी १० देखि १५ दिनमा सुन्दरीजलमा झर्नुपर्थ्यो ।

तर, त्यो पानी सुन्दरीजलमा होइन, भोलिपल्टै ‘अडिट टनेल’को ढोका फुटाएर अम्बाथानमा निस्कियो । त्यो घटनामा एक इन्जिनियरको ज्यान गयो भने एक जना सवारी चालक बेपत्ता छन् ।

यो घटना हुनासाथ आयोजनाका अधिकारीहरुले भनेका थिए, ‘पानी भरिँदा सुरुङको ढोका कसरी फुस्कियो, हामी अचम्ममा छौं ।’

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी नेतृत्वको समितिले घटनास्थलको अध्ययन गरेर मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसको जवाफ छ । प्रतिवेदनले अडिट सुरुङको पानी थुन्न बनाइएको ढोकाको डिजाइन र जडानमा भएको त्रुटि भएको औंल्याएको छ ।

सुरुङभित्र पानीको चाप मापन गर्ने भरपर्दो प्रणाली नराखिएको, ढोका जोड्दा डिजाइन विपरीत काम गरेको र यसमा आयोजना, ठेकेदार कम्पनी, परमर्शदाता कम्पनी सबै दोषी रहेको प्रतिवेदनको निष्कर्ष छ ।

आयोजना प्रमुख तिरेशकुमार खत्री अडिट सुरुङको गेटमा गम्भीर त्रुटि भएको स्वीकार्छन् । डिजाइन र ढोका जडानमा त्रुटि भएको कुरा परामर्शदाता र आपूर्तिकर्ता कम्पनीले पनि स्वीकार गरिसकेको उनी बताउँछन् ।

यो गेट (ढोका) जोड्दा परामर्शदाता कम्पनी इप्टिसाका प्रतिनिधि आयोजनास्थलमै थिए । दुर्घटना भएपछि भारतीय आपूर्तिकर्ता कम्पनी प्रेसिसनका प्रतिनिधि पनि नेपाल आएका थिए ।

खत्रीका अनुसार, अडिट सुरुङ बन्द गर्ने ढोकाहरु भित्रबाट खुल्ने गरी जोेड्नुपर्ने थियो । त्यो अवस्थामा पानीको जतिसुकै दबाव परे पनि फ्रेमले थाम्थ्यो । तर, भित्रबाट जडान गर्दा प्राविधिक निस्कन समस्या पर्ने भन्दै बाहिरैबाट जोडिएको थियो ।

सुरुङमा पानीको चाप पर्न थालेपछि बाहिरबाट टाँसिएको ढोकाको नट–बोल्टले नथामेर पानी बाहरिएको थियो ।

भित्रको पानीको चाप थाम्न बलियो फ्रेम बनाएर ढोकालाई भित्रैबाट जडान गर्नुपर्नेमा त्यो नहुँदा कमजोरी देखिएको आयोजना प्रमुख खत्री बताउँछन् ।

उनका अनुसार, मेलम्ची खानेपानी सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा यस्ता ढोका जोडिएका छन् । अब यी सबैलाई सुधार गरेर मात्र सुरुङमा पानी हाल्नुपर्ने भएको छ । धमाधम काम गरे यसमा डेढ महिना समय लाग्छ ।

सुरुङको ढोका फुटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्ने भएको छ । यो घटनासँगै मेलम्चीको पानी काठमाडौंमा खस्ने भाका पनि सरेको छ ।

सिक्टाको त्यो घटना…

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मुख्य नहर २०७३ असारमा परीक्षणको लागि पानी छाड्दा चर्चरी चिरिएर फुटेको थियो । २०७५ साउनमा पनि ठाउँ–ठाउँमा नहरको स्लोप र सर्भिस रोड भत्किएर क्षतविक्षत भयो ।

भत्किएको सिक्टा नहर

सिँचाइ मन्त्रालयले त्यसबारे अनुसन्धान गर्न बनाएको विज्ञ समितिले प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण नहरले पानी नथेगेको निश्कर्ष निकालेको थियो । इन्जिनियरिङ र व्यवस्थापन दुवै पाटोमा सिक्टा सिँचाइ आयोजना र ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन चुकेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले माटो परीक्षण नै नगरी नहर निर्माण गरेको औंल्याएको छ । आधारभूत कुरामै चुकेको यो परियोजनाको परामर्शदाता कम्पनी ईआरएमसी थियो । परामर्शदाता र ठेकेदार कम्पनीले हेलचेक्र्याइँ गर्दा आयोजनाले पनि पर्याप्त ध्यान नदिँदा सिक्टाको नहर परीक्षणकै क्रममा क्षतविक्षत भएको थियो ।

अख्तियारले सिक्टामा भ्रष्टाचार भएको ठहर गर्दै २०७५ मंसिरमा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ बिगो दाबीका साथ भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

निर्माणमा भन्दा बढी मर्मत खर्च लाग्ने गरी कमजोर नहर बनाएको, गुणस्तरीय निर्माणका प्रावधानहरू कार्यान्वयन नगरेर कामै नलाग्ने नहर बनाएको, विगतका अध्ययन प्रतिवेदन र सुझावलाई बेवास्ता गरेको अख्तियारले ठहर थियो । अहिले पनि याे मुद्धा अदालतमै विचाराधीन छ ।

०६१ सालमा शुरु भएको सिक्टा आयोजनाको मूल नहर परीक्षणमै भत्किएपछि आजसम्म पनि थलापरेको पर्यै छ ।

साना परियोजनामा पनि उस्तै समस्या

यस्ता लापरवाहीका घटना ठूला परियोजना मात्रै हुँदैनन् । साना तर, महत्वपूर्ण अन्य आयोजनामा पनि व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीको लापरवाहीले बन्दाबन्दै वा परीक्षणका क्रममा दुर्घटनामा परेका छन् ।

गत १५ फागुनमा तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधीन पुल भत्कियो । ठेकेदार गौरी पार्वती निर्माण सेवा प्रालिले ढलान गर्न नपाउँदै पुल मर्स्याङ्दी नदीमा खसेको थियो ।

मुसिकोट नगरपालिकामा निर्माणाधीन पुल वैशाख ४ गते बाढीले बगायो । मुसिकोट नगरपालिकालाई इस्मा गाउँपालिकासँग जोड्न निस्तेखोलामा बन्दै गरेको पक्की पुल बग्दा एक करोडको क्षति भएको श्रेष्ठ निर्माण कम्पनीले बताएको छ ।

त्यसको भोलिपल्ट कञ्चनपुरको लालझाडी गाउँपालिका– ३, बल्मीको दोदा नदीमा हिमसगरमाथा कन्सट्रक्सनले निर्माण गरिरहेको पुल बाढीले बगायो ।

यता, रुपन्देहीमा साढे ८ करोडको लागतमा बनिरहेको पुल गत असार ६ गते भाँच्चियो । सियारी गाउँपालिका र मायादेवी गाउँपालिका जोड्न दानव नदीमा बन्दै गरेको ६० मिटर लामो उक्त पुल ढलान गरेको १४ दिनमा भाँच्चिएर खोलामै खस्यो ।

बर्सेसनि यसैगरी निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिन्छन् र खोलासँगै बग्छन् । पुलको निर्माण निकै संवेदनशील हुने भएपनि यसमा इन्जिनियर, ठेकेदार, आयोजना र कामदारले हेलचेक्र्याइँ गर्दा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् ।

ठेकेदार कम्पनीले लापरवाही गरेको पाइएपछि काठमाडौंको टेकुमा तयार भएको नयाँ पुल बन्द गरेर राखिएको छ । यो पुल बनाउँदा सडक विभागले दिएको निर्देशन अटेर गरी गुणस्तरहीन तार प्रयोग गरिएको पाइएको छ । विभागका उपमहानिर्देशक शिवहरि सापकोटा गाडी चलाउन जोखिमपूर्ण देखिएपछि पुल बन्द गरेर राख्नुपरेको बताउँछन् ।

ठेकेदार तथा परामर्शदाता कम्पनीले तोकिएका मापदण्ड पूरा नगर्ने, निर्देशनहरु अवज्ञा गर्ने, प्रविधि अनुसार निर्माणको काम नगर्ने लगायतका कारण कतिपय सडक तथा पुलमा निर्माणाधीन अवस्थामै समस्या देखिने गरेको उनको भनाइ छ ।

विज्ञ भन्छन्– हतार र लापरवाहीको परिणाम

आयोजनाहरुले नयाँ प्रविधि प्रयोग नगर्ने र प्रयोग गर्दा पनि आवश्यक सावधानी नअपनाउने परिपाटीले समस्या ल्याएको पूर्वाधारविदहरु बताउँछन् ।

माटोदेखि निर्माणाधीन तथा निर्माण सम्पन्न भएका संरचनाहरुको गम्भीरतापूर्वक वैज्ञानिक तथ्यमा आधारित भएर परीक्षण नगर्ने प्रचलन समस्याका रुपमा देखिएको बताउँछन् पूर्वसचिव किशोर थापा ।

‘मेलम्चीमा भने विभागीय मन्त्री पानी हाल्न हतारिएको जस्तो पनि देखियो,’ मेलम्ची खानेपानी विकास समितिका पूर्व अध्यक्षसमेत रहेका थापा भन्छन्, ‘आयोजनामा जोडिएका र बनेका संरचनाहरुको विज्ञमार्फत छड्के सुपरीवेक्षण र अनुगमन नभएकाले पनि दुर्घटना भएको हुनसक्छ ।’

किशोर थापा

उनका अनुसार, नेपालजस्तो कमजोर सुपरिवेक्षण क्षमता भएका मुलुकमा ठूला संरचनाहरु बनाउँदा त्रुटिहरु हुनसक्ने बढी सम्भावना हुन्छ । लापरवाही हुन नदिन जिम्मेवार व्यक्तिले पटक–पटक अनुगमन गरेर निर्देशन दिनुपर्ने, क्षति कम हुने पूर्वसावधानीहरु अपनाउनुपर्ने थापाले बताए ।

कतिपय अवस्थामा डिजाइनमै हुने त्रुटि पनि क्षतिको कारण बन्ने गरेको उनको भनाइ छ । सही डिजाइन भएका आयोजना निर्माणमा पनि ठेकेदारको लापरवाही प्रशस्तै भेटिन्छन् ।

निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्री  प्रयोगले पनि संरचनाहरु भत्किने क्रम बढेर गएको विज्ञहरुको मत छ ।

निर्माणको समयमा सुपरीवेक्षण नगर्ने र ठेकेदारसँग कमिसन लिएर कमजोर निर्माणलाई पनि स्वीकृति दिने साइट इन्जिनियर र आयोजना प्रमुख पनि दोषी रहेको अर्का एक पूर्वसचिव बताउँछन् ।

‘बनिरहेका बेला पर्याप्त अनुगमन नगर्ने अनि भत्किएपछि सबै दोष ठेकेदारमाथि लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ,’ उनी भन्छन्, ‘ठेकेदारलाई दुहुनो गाई बनाउने आयोजनासम्बद्ध अधिकारीहरु पनि गुणस्तरहीन विकासका कारक हुन् ।’

ठेकेदारहरुले जिम्मेवारीपूर्वक दक्ष जनशक्ति लगाएर काम नगर्दा पनि यस्तो समस्या दोहोरिरहेको उनको बुझाइ छ ।

ठेकेदार र सरकारी अधिकारीले आफ्नो प्राविधिक तथा व्यवसायिक क्षमता बढाउन अन्तर्राष्ट्रियस्तरमै पुगेर तालिम लिने व्यवस्थासमेत गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

उनीहरुका अनुसार, पूर्वाधार निर्माणका त्रुटि घटाउन कानुनी र नीतिगत रुपमा अनेक व्यवस्था छन्, जसलाई जिम्मेवार ढंगले कार्यान्वयन गराउन सक्ने हो भने दुर्घटना कम हुन्छ ।

निर्माण व्यवसायीहरु भने गलत डिजाइन र अनावश्यक रुपमा छिटो काम सक्न दिइने दबावका कारण विकासे संरचनामा समस्या आउने गरेको बताउँछन् ।

‘मुलतः डिजाइनमा हुने त्रुटीका कारण नै बन्दाबन्दैका संरचनामा क्षति पुग्छन्,’ नेपाल निर्माण व्यवसायी महासंघका प्रवक्ता टंकप्रसाद चौलागाइँ भन्छन्, ‘वर्षाको समयमा छिटो काम गर्न दबाव दिँदा पनि यस्तो दुर्घटना निम्तिन्छ ।’

स्रोत: अनलाईन खबर

सेयर गर्नुहोस् :

Leave a Reply