कोरोना विविध समाचार

घतलाग्दो कुरा : कोरोनाको ६ सकारात्मक पाटो

यो शीर्षक देखेर कतिपयलाई झोक चल्न सक्छ । कोरोना भाइरसको कारण विश्वभर थुप्रैले वियोग, कष्ट, त्रास, असुविधा भोगिरहेका छन् । अहिलेसम्म दुई लाख बढीले ज्यान गुमाएका छन् ; जसभित्र प्रवासी नेपाली पनि सामेल छन् ।

कोरोना वैश्विक महामारीको रुपमा देखापरेकोले पनि यसप्रति विश्वकै ध्यान बढेको छ। यद्यपि अन्य रोगबाट दिनहुँ मर्नेहरूको आँकडा निकाल्ने हो भने योभन्दा कति गुणा बढी हुन्छ । अरूको के कुरा गर्नु, सामान्य झाडापखालाबाट हाम्रै मुलुकमा कतिपयले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमण जुन रुपमा फैलियो, त्यो आफैँमा दुःखदायी कुरा हो । तर, कोरोना भाइरसको कारण थुप्रै कुरा राम्रो पनि भएको छ । वर्तमान युगका लागि कोरोना त संक्रमित रोग मात्र नभएर एक सन्देशवाहक वा शिक्षक जस्तो पनि पो भइदियो । जस्तो कि यसले शारीरिक सरसफाइको पाठ सिकाउनेदेखि प्रकृतिप्रति मानव हस्तक्षेप कुन रुपमा बढिरहेको थियो भन्ने सन्देश समेत दिन भ्याए ।

अतः यहाँ कोरोना भाइरसले गर्दा भएका सकारात्मक पाटो खोतलिएको छ ।

शारीरिक सरसफाइको पाठ

आमाबुबाले भने, ‘सफा सुग्घर हुनुपर्छ ।’ विद्यालयमा सिकाइयो, ‘यसरी हात धुनुपर्छ, यसरी सरसफाइ गर्नुपर्छ ।’ त्यतिले मात्र कहाँ पुग्नु, सरकारी, गैर-सरकारी संघ-संस्था घरदैलोमा, टोलमा आएर भन्यो, ‘शारीरिक स्वास्थ्यका लागि यसरी सरसफाइ गर्नुपर्छ ।’ हामीले टेरे पो ?

कोरोनाले भने एकै झड्कामा विश्वका मानव-जातिलाई सरसफाइप्रति जागरुक गराइदियो । सर्तक गराइदियो । भिडभाडमा हिँड्दा मास्क लगाउनुपर्छ । घरमा प्रवेश गर्नुअघि साबुन पानीले राम्ररी हात धुनुपर्छ । एउटा टोल वा गाउँ मात्र होइन, मुलुक मात्र होइन, विश्वलाई नै सरसफाइप्रति जागरुक गराइदियो कोरोनाले । सम्भवत: कोरोना भाइरसको संक्रमण नफैलिएको भए सरसफाइप्रतिको यस्तो सचेतना फैलाउन सरकारी/गैरसरकारी निकायले अर्बौं अर्ब खर्च गरेर पनि यति शीघ्र नतिजा आउने थिएन होला।

पारिवारिक मेलमिलाप

‘बाबु मादले आमा मारुनी, छोराछोरी भल्ट्याङभुल्टुङ देन लात्ताले’ पूर्वेली समाजको ठेट टुक्का हो यो । यसले पारिवारिक मेलमिलाप नहुँदाको अवस्था चित्रण गर्छ । पछिल्लो समय हरेक घर-परिवारको अवस्था यस्तै थियो । बिहान बालबच्चा विद्यालयमा, आमाबुबा आ-आफ्नै काम धन्दामा । घरमा बस्ने त उही, पाको बुबाआमा ।

मान्छेले आफूलाई कतिसम्म यान्त्रिक बनाइरहेका थिए भने आफ्नै बालबच्चासँग खेल्न उनीहरूलाई समय थिएन । आफ्नै बुबाआमासँग भलाकुसारी गर्ने फुर्सद थिएन । आफ्नै भान्साको खाना खाने मेसो समेत उनीहरूलाई मिल्दैन’थ्यो । बालबच्चा एकातिर, आमाबुबा एकातिर । यसले पारिवारिक मूल्यलाई खुम्च्याउँदै लगेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएपछि भने सबैजना एकमुठ घरभित्र बसे । पारिवारिक वातावरणमा रमाए । भलाकुसारी गरे । एकअर्काको कुरा सुने ।

कोरोना संक्रमण नफैलिएको भए पारिवारिक मिलापको यो मेलोमेसो कहिले मिल्ने थियो होला र ?

जङ्कफुड र मदिरापान खपत कम

सामान्य रुपमा पनि अनुमान गर्न सकिन्छ ; लकडाउनका क्रममा धेरैले मदिरापान गर्ने अनुकूलता पाएनन् । बजार नै ठप्प भएपछि मदिरा कहाँबाट ल्याउने ? त्यसमाथि बालबच्चा र आमाबुबासँग बसेको बखत मत्ने अनुकूलता पनि भएन । सम्भवत: धेरैले मदिरा नखाएपछिको स्वास्थ्य लाभ अनुभव गरे होलान् । अर्कोतिर बालबच्चाले पनि जङ्कफुड माग्ने, खाने मौका पाएनन् । घर बाहिर निस्कने स्थिति नभएको भन्दै आमाबुबाले जङ्कफुड किन्न जानु पनि परेन ।

श्रीमानलाई भान्साको काम

हामीकहाँ आमा, श्रीमती, बुहारी, भाउजु वा छोरीले भात भान्सको काम सम्हाल्ने गर्छन् । त्यसैगरी बगैँचाको गोडमेल, फूल रोप्ने, सरसफाइ गर्ने, लुगा धुने इत्यादि काम महिलाको पेवा जस्तै हुन्छ । लकडाउनको कारण सबैजना घरमै बस्नु परेपछि भने कामको यो स्वरुपमा परिवर्तन आएको हुनुपर्छ। श्रीमान्, छोरा, देवर, दाजुभाइ आदिले भात पकाउन सिके होलान् । कुचो लगाउने, बगैँचा बनाउने काम गरे होलान् । करेसाबारी वा छतमा सागसब्जी रोप्ने जाँगर पनि चल्यो होला ।

कोरोना भाइरस नफैलिएको भए यस्तो माहोल कसरी बन्थ्यो होला ? महिला अधिकारकर्मीहरू जतिसुकै उफ्रिएपनि कसैले टेरपुच्छर लगाएको भए पो ? कोरोनाले भने भान्सा एवं घरायसी कामकाज कस्तो हुन्छ ? श्रीमतीले यी सबै काम कसरी चुपचाप गरिरहेका छन् भन्ने पाठ सिकाइदियो ।

धर्तीलाई विश्राम, प्रकृतिलाई हाइसञ्चो

कोरोना भाइरसले विश्वकै मानव समुदायलाई एउटा कुरा सूचित गरेको छ – ‘यो धर्ती एवं प्रकृतिमाथि तिमीहरूको हस्तक्षेप कुन हदसम्म बढिरहेको छ ?’

वास्तवमा मान्छेले आफ्नो सुख र सुविधाको चक्करमा धर्ती एवं प्रकृतिमाथि ताण्डव मच्याइरहेको थियो । यान्त्रिक कम्पनदेखि, प्रदूषण र कोलाहलले प्रकृतिको स्वच्छता हरण गरिदिएको थियो । हावाले आफ्नै लयमा वहन पाएको थिएन । खोला-नाला आफ्नै गतिमा सुस्ताउन पाएको थिएन। किरा-फट्याङ्ग्रादेखि वनस्पतिसम्म मान्छेको दादागिरीबाट संकट र सकसमा थिए ।

कोरोना भाइरसपछि विश्वमा त्यस्ता भौतिक गतिविधिहरू ठप्प भए, जो धर्ती, प्रकृति एवं पर्यावरणका लागि हनिकारक थिए । कलकारखाना बन्द भए । गाडीहरू चलेनन्, विद्युतीय यन्त्रको प्रयोग घट्यो । यसले कोलाहाल, प्रदूषण सबै हटाइदियो । यस्तो लाग्न थाल्यो, धर्ती आरामले खुट्टा तन्काएर बसेको छ । हावाले शान्तिपूर्वक सास फेरिरहेको छ । प्रकृति मुस्कुराइरहेको छ ।

राज्य एवं सरकारको परीक्षा

पत्याउनुहोस्न-पत्याउनुहोस्, कोरोनाले अधिकांश मुलुकको परीक्षा लिएको छ । खासगरी त्यहाँको सरकार, स्वास्थ्य संयन्त्र, मानव सभ्यताको परीक्षा लियो ।

यस परीक्षामा कतिपय मुलुकले विश्वमै आफ्नो नाम चम्काउने मौका पाए भने कतिपय मुलुक लाजले मुख छोप्नुपर्ने अवस्थामा पुगे । कतिपय मुलुकको स्वास्थ्य सेवा अत्यन्तै द्रूत र प्रभावकारी भइदियो । कतिपय मुलुकको नागरिकमा उच्च स्वास्थ्य चेत र सर्तकता देखियो । कतिपय मुलुकका सरकार भने यस्तो संवेदनशीलताबाट नागरिकलाई बचाउने त कता हो कता, धमिलो पानीमा माछा मार्ने दाउपेचमा पो लागे ।

यसले कुन मुलुकको नेतृत्व कति सक्षम र कति असक्षम भनेर सर्वसाधारण नागरिकलाई भने छर्लङ्गै पारेको छ ।

स्रोत: अनलाई खबर

सेयर गर्नुहोस् :