कला साहित्य समाचार

समयले सिकाएको सानो भोगाई: “गाउँ र मेरो बाल्यकाल”

असार ३१

कति राम्रा सम्बन्ध र मान्छेहरू थिए हाम्रो वरिपरि। कति केलाका बोटहरू र पानीमूल थिए । केलाका घारी पकाउदा पकाउदा अर्कै सुगन्ध आउथ्यो घरमा कोदो कुट्न नपाइ गोठभित्र निस्सासिएको हुन्थ्यो । कति हरियाली वातावरण थियो वरिपरि । आलोपालो र ऐचोपैचो लिन कति सहज थियो । बज्यैको पालामा तवड (तरूल) कोरेरै अघाइन्थ्यो। दुई दुई भैंसी नैने बकिन्डेका दुधको खिर खाइ नसकी बासी रहन्थ्यो । बासी भातमा हरियो नून खुसानी पिसि खाएको सम्झदा अहिले नि पानी आउँछ मुखमा ।

बेलुका छिमेकीको घरमा बसि कति सुख दुखका कुरा हुन्थे आरू, आम, इमिला कति हुन्थे । मौरीका 4/5 घारा हुने र मह दैनिक जसो खाइने उखुका झाल पनि हुने चोरी खाइदिन्थे दौँतरीहरू, मेलापात पनि गरियो गोरू भैंसी पाल्नलाइ खेतहरूमा गोरु जोतियो, बाली रोपियो धानबाली पाकेर कुन्निउ लगाइन्थ्यो र खेतमै खलो बनाइ धान चुटेर त्यतै खाना खाएको छुट्टै आनन्द आउने मेरो गाउँखेतको मायाले मलाई सताइरहेको छ । मेरो सानो गाउको नजिकैमा खोली डाफा माछा मारी पोलि खाएका दिनहरू मानसपटलमा ताज्जै छन ।

बाख्री चराउने वनमा हातमा किताब लिएर घोकेका दिनहरूले सम्झिदै आज बाच्न सिकाएको छ । वर्षा याममा खोलीखेतको नजिकै खर्कमा गाइभैसी चराउदै च्याउ पाएको मज्जाले बेलुकी च्याउको तरकारी खाने आशाले दिनभरी भोक लाग्दैनथ्यो। घरमा पिठो सकिदा शनिवार पारेर आमासङ्ग कैलाश खोलाका पानी घट्टमा गहुको धूलो पिसेर ल्याएको सम्झनाले अतीत तिर फर्कने बनायो । सिलधाराका कोलमा तोरी पेल्नका लागि आमा दिदी दाइ बहिनीसङ्ग कोल घुमाएका पलहरू जीवितै छन । तोल्यानका गडामा मल बोकेको र गोरू जोतेको सो ठाउमा उम्रेको सागपात कति मीठो धाराका खोलाको सैनु (सिस्नु) टिपी आमाले पकाएको खादा त्यो स्वाद कहाँ बिर्सनु। पिनापानीको झोल र कोलपेलेका तेलको अनौठो सङ्गम धाराका खोलाको चिसो पानीको स्वादको व्याख्या नै गर्न सकिदैन ।

दशै तिहार चाड्बाडमा ,नाता गोता इष्ट्मित्रबाट आगमन हुने पाहुनाको सत्कार सम्मानले गाउँको ओजस्वी बढाउथ्यो । गाउको संस्कृती,सस्कार भाषा शैली कति मीठो । टुक्किको जमनामा घरबाट मट्टीतेल लिइ मास्टर बाजेका(भरत रावल) घर पढन गएको र अबेर भई उतै सुतेर बिहान घरमा फर्केका दिनहरूले बाल्यकालको स्मरण गरायो ! सायद मेरो देशमा द्वन्द चर्किरहेको थियो । मान्छेहरू भयवित थिए । आफू र आफ्नो परिवार कसरी बाच्ने भन्नेमा चिन्तित थिए कोही भने कम्मरमा खुकुरी भिरेर युद्धमा होमिएका थिए ।

युद्धविराम पश्चात् शान्तिपूर्ण वातावरण आज गाउँ निरन्तर बास बस्न छोडेको करिब दुई दशक हुनथाल्यो, ती बितेका, बिताएका ती सम्झना रूपी समय सम्झिदा केवल सम्झनामात्र सिमित छन समय वित्दै जादा, बसाइ सहर बजारमा अबका दिन ग्यासमा पकाएको खानाले के उर्जा देला चाउचाउले के ताकत देला सहर बजारले के साथीत्व बनाउला यस सहर बजारले ती पुराना साथीहरु हराए र सट्टामा सहरीया र बजारीया मित्रको प्रवेशले के उभोगती लेला गाउँतिर पनि उखुका झाल, इमिला, आपका रूख, माहुरीका घार, केलाका बोट, हरियो सगपात, दहीदुध, गाइभैसी बाख्रा, खोली डाफे माछा, खदया, गहुधान, लावन, बाबर तल्याएका रोटी, मासको दाल, पिनापानीको झोल, कोल पेलेको तेल, हरियो चियापत्ति, दाख दारिम, हजारी फूलका बोटको बिउ पनि नपाइनाले मेरो गाउको पहिचान हराएको अनुभूती भयो र सजीव प्राणीको हालको समयको जीवनलीला !

(लेखक रावल मंगलसेन नगरपालिकामा शिक्षा अधिकृत हुनुहुन्छ)

सेयर गर्नुहोस् :